२४ घण्टापछि नरैनापुरका संक्रमितलाई नेपालगञ्ज ल्याइयो
नेपालगञ्ज, बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार पुष्टि भएका ५९ जना संक्रमितहरुलाई २४ घण्टापछि नेपालगञ्ज ल्याइएको छ । जिल्ला स्तरीय क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले २५ जनालाई लायन्स डेन्टल अस्पताल र ३४ जनालाई कोहलपुर पिपरीस्थित कृषि तालिम केन्द्रमा राख्ने निर्णय गरे अनुसार नरैनापुरका संक्रमितलाई मंगलबार साँझ नेपालगञ्ज ल्याइएको हो ।
जिलला प्रहरी कार्यालय बाँकेका डिएसपी शिववहादुर सिंहका अनुसार २८ जनालाई लायन्स डेन्टल अस्पतालमा राखिएको छ । अन्य संक्रमितहरु आउनेक्रममा रहेको सिंहले बताए । सात महिनाकी शिशुसहितकी एक महिलालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राख्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।
लायन्स डेन्टललाई नेपालगञ्ज उपमहानगरपालिकाको पहलमा दुई महिना पहिले कोरोना विशेष अस्थायी अस्पतालको रुपमा स्थापना गरिएको थियाे ।
। यसअघि प्रशासनले सोमबार साँझ नरैनापुरमा रहेको लक्ष्मणपुर प्राथमिक केन्द्रमा संक्रमितलाई राख्ने निर्णय गरेपछि नेपालगञ्जमा वेड संकलन गरिएको थियो । मंगलबार फेरी नेपालगञ्ज ल्याउने निर्णय भएको हो । दिउसो नरैनापुरमा केही स्थानीयले संक्रमितलाई अन्यत्र लैजान नदिने भन्दै विरोध गरे भने कोहलपुर पिपरीमा समेत संक्रमित राख्न नहुने भन्दै स्थानीयले विरोध जनाएका थिए ।
नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले मंगलबार साँझ संक्रमित सबैको खानाको ब्यवस्था नेपालगञ्ज उपमहानगरपालिकाले गर्ने जानकारी दिइन । बाँकेको नरैनापुरमा एकजना मृतकसहित ६८ जनामा संक्रमण देखिएको छ भने नेपालगञ्जमा २५ जनामा संक्रमण फैलिएको छ ।