भारत-चीन विवाद सीमाक्षेत्रमा सैन्य फौज थपिए

एजेन्सी,  भारत र चीनबीच फेरि तनाव बढेको छ । विवादित सीमा क्षेत्रमा दुवै देशले सैन्य उपस्थिति बढाएका छन् । टाइम्स अफ इन्डियाका अनुसार लदाकमा भारत र चीन दुवैले फौजको उपस्थिति बढाएका छन् ।

चिनियाँ फौजले विवादित सीमा क्षेत्रको गल्वान उपत्यकाको नदी छेउमा टेन्ट गाँडेर निर्माण शुरु गरेपछि देमचोक, चुमार र दौलत बेग ओल्डी क्षेत्रमा भारतले फौज बढाएको छ । गल्वन क्षेत्र सन् १९६२ को भारत चीन युद्धको एउटा बिन्दु हो । त्यहाँ बेला बेलामा दुई देशबीच विवाद भइरहन्छ ।

यसअघि सिक्किमको पाङगोङ सोस्थित भारत-चीन सीमामा हालै झडप भएको थियो । उक्त झडप स्थानीय तहमा मिलाइएपनि दुई देशबीच सीमाको विषयमा तनाव बढेको देखिनथालेको छ ।

यसैगरी, नेपालले लिपुलेक हुँदै भारतले चीनतर्फको लिंकरोड खोलेकोमा आपत्ती जनाएपछि भारतीय सेनापति एम एम नरभानेले चीनतर्फ संकेत गर्दै उक्साएको आरोप लगाएका छन् । उनले गत शुक्रबार नेपालसँग कुनै सीमा विवाद नभएको र अहिले भएका गतिविधि कसैको उक्साहटमा भएको बताए । भारतको सुरक्षासम्बन्धी थिंक ट्यांकले यो समाचार छाप्दा सेनापति नरभानेले चीनतर्फ संकेत गरेको बताएका थिए ।