प्रदेश १ मा सुरक्षाकर्मीसहित ११ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौ, प्रदेश १ मा थप ११ जनाकाे काेराेना भाइरस संक्रमण भएकाे छ। झापामा थप ९ जनामा र सुनसरीमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । झापाकाे केचनाबाट संकलित स्वाबको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको विराटनगरस्थित प्रादेशिक प्रयोगशालाले जनाएको छ।
योसहित झापामा संक्रमितको संख्या १२ पुगेको छ। सोमबार एक जनामा संक्रमण पुष्टि भएपछि केचनाबाट स्थानीयको नमुना संकलन गरी प्रयोगशालामा लगिएको थियो।
संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको नमुना परीक्षण गरिएकामा ९ जनामा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ। यस्तै सुनसरीमा थप २ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
उनीहरुको स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको थियो। संक्रमण हुनेमा इटहरी २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी छन्।
यसअघि सोमबार सुनसरीमा १ पुरुषमा संक्रमण पुष्टि भएको थियो। योसहित सुनसरीमा संक्रमितको संख्या ३ पुगेको छ। आज संक्रमित देखिएका समेत गरी प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ।
जसमा उदयपुरका ३३, झापाका १२, मोरङका ३, सुनसरीका ३, भोजपुरका १, धनकुटाका १ र खोटाङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। संक्रमितहरूकाे विराटनगरस्थित काेराेना उपचार केन्द्रमा उपचार भरहेकाे छ।