कोरोना संक्रमित भेटिएपछि आठबिस नगरपालिका सिल
बिरेन्द्रनगर, सुर्खेत कोरोना संक्रमित भेटिएपछि दैलेखको आठबिस नगरपालिका सिल गरिएको छ। वडा नम्बर १ सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना संक्रमण भेटिएपछि मङ्गलबारदेखि नगरपालिकालाई सिल गरिएको हो।
नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवत–जावत नहुने गरी नगरपालिकालाई सिल गरिएको जानकारी दिए। उनका अनुसार युवामा कोरोना संक्रमण भेटिएको थाहा पाएपछि उक्त वडा सिल गरिएको छ ।
कर्णाली प्रदेशमै कोरोना संक्रमण भेटिएको पहिलो हो। शनिबार स्वाब सङ्कलन गरी सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा परीक्षण गर्दा ती युवामा कोरोना संक्रमण देखिएको थियो।
थप पुष्टिका लागि उनको स्वाब नेपालगंज भेरी अस्पताल पठाउँदा पनि कोरोना पोजेटिभ देखिएको थियो।संक्रमित युवक भारतको आगरास्थित कोल्ड स्टोरमा काम गर्दै आएकोमा अलकडाउनको समयमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासामा ३५ दिन क्वारेन्टाइनमा बसेर दैलेख पुगेका हुन्।
महेन्द्रनगरबाट गाडी रिजर्भ गरेर उद्धार गरी ल्याएका उनीसहित ३९ जनालाई लक्ष्मी माध्यमिक विद्यालय सात्तालाको क्वारेन्टिनमा राखिएको थियो।
संक्रमित अझै क्वारेन्टिनमै
नगरपालिकाको क्वारेन्टिनमा रहेका ३५ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको पुष्टि भए पनि व्यक्ति को हुन् भन्ने पहिचान हुन नसक्दा स्थानीय सरकार अलमलमा परेको छ।
क्वारेन्टिनमा ३५ वर्ष उमेरका अन्य व्यक्ति पनि रहेकाले कुन व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको भन्ने थाहा हुन नसक्दा सबैलाई एकै ठाउँमा राखिएको हो।
क्वारेन्टिनमा सामान्य दूरी कायम गरिएको भए पनि आइसोलेसनमा राख्नलाई व्यक्ति नै पहिचान नभएकाले अप्ठेरो परेको बताइएको छ।
संक्रमितको पहिचान नहुँदा क्वारेन्टिमा रहेका सबै व्यक्ति सशंकित बनेका छन्।