दाङका द-काठमाडौं टेलरिङ्गका सञ्चालकले कालीगढलाई दिए राहत
भालुवाङ, दाङ देउखुरीको एक टेलरिङ्ग सेन्टरका सञ्चालकले आफ्ना कालीगढलाई राहत प्रदान गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको द-काठमाडौं टेलरिङ्ग सेन्टरका सञ्चालक संजिप छिनालले आफ्ना कालीगढलाई राहत प्रदान गरेका हुन् ।
उनले टेलरिङ सेन्टरमा काम गर्ने ९ जना कालीगडलाई जनही २५ किलो चामल, दुई किलो दाल, १ लिटर खाने तेल र १ किलो नुन उपलब्ध गराएका छन् । लकडाउनमा काम गर्न नआएपनि कर्मचारीहरुको हौसला बढाउन र उर्जावान बनाउन सहयोग गरेको सञ्चालक छिनालले बताए ।
सोमवार सिसहनियाँ उद्योग वाणिज्य संघका सहासचिव ईश्वरीप्रसाद अधिकारीको उपस्थितिमा छिनालले खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् । टेलरिङ सेन्टरमा १३ जना कालिगडले काम गर्दै आएकोमा स्थानीय ९ जनालाई दैनिक खाद्य बस्तु प्रदान गरेको र लगडाउन लम्विदै गए पुन सहयोग गर्ने छिनालले बताएका छन् । छिनाल राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य समेत हुन् ।