लागूऔषधसहित जमुनाहाबाट चिनीको ट्रक र सहचालक प्रहरी फन्दामा
नेपालगञ्ज, बाँके नेपालगञ्ज जमुनाहा नाकाबाट प्रहरीले चिनी बोकेर आएको ट्रकबाट लागूऔषध कोरेक्स, सुपरपावर र बिडी बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको सादा पोशाकको टोलीले इलाका प्रहरी जमुनाहा र भन्सार कार्यालयको बिचबाट लागुऔषधसहित ट्रकलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट चिनी बोकेर नेपालगञ्जतर्फ आउँदै गरेको युपी ७८ बीटी २२९५ नम्बरको ट्रकलाई सादा पोशाकमा खटिएको प्रहरीले टोलीले नियन्त्रणमा लिएको थियो । ट्रकमा लागुऔषध ल्याउँदै गरेको सूचना पाएपछि सादा पोशाकको टोली जमुनाहा पुगेर रोकिराखेका ट्रकहरुलाई चेकजाँच गर्दा उक्त ट्रकबाट लागूऔषध बरामत गरेको हो ।
ट्रकबाट ९४ वटा बोतल कोरेक्स, १५ पोका सुपरपावर र १२ पोका बिडी बरामत गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए । प्रहरीले ट्रक र सहचालकलाई समेत नियन्त्रणमा लिएको छ । चालक भने चेकजाँचको क्रममा भागिसकेका थिए । ट्रकभित्र रहेका सहचालक भने भाग्न पाएनन् ।
लागूऔषधसहित ट्रक नियन्त्रणमा लिएको स्थानबाट तल दुई ठाउँमा सुरक्षा चेकजाँच हुने गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहा, सशस्त्र प्रहरी र नेपालगञ्ज भन्सारका कर्मचारीले कडा चेकजाँच गर्ने गर्दछन् ।
उनीहरुले छोडेको ट्रकलाई जिल्लाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित नियन्त्रणमा लिन सफल भएको हो । लागूऔषधसहित नियन्त्रणमा लिएको ट्रक र सहचालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ ।
लकडाउनको मौका पारेर लागूऔषध नेपालतर्फ आयात हुन थालेपछि बाँके प्रहरीले सादा पोशाकका प्रहरीलाई सीमा क्षेत्रमा आफ्नो सक्रियता देखाउन निर्देशन दिइएको छ । सोही टोली केहीअघि मात्र समेत ठूलो परिमाणको लागूऔषध कोरेक्ससहित एक जनालाई नियन्त्रणमा लिएको थियो ।