दाङकाे गढवा गाउँपालिकाले एक सय बेडको क्वारेन्टाइन बनाउने तयारी

भालुवाङ,  दाङ देउखुरीको गढवा गाउँपालिकाले १ सय बेडको क्वारेण्टाइन बनाउने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा आइतवार बसेको सर्बदलिय सर्बपक्षिय बैठकले भारत लगायत तेस्रो मुुलुकबाट नेपाल भित्रिने नागरिकहरुलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको गाउँपालिकाका प्रबक्ता बाबुराम अधिकारीले जानकारी दिएका छन् ।

बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि एक करोडको राहातकोष स्थापना गरि पहिलो चरणमा २ हजार ९ सय ५७ घरधुरीलाई झण्डै ४७ लाखको खाद्यान्न राहात वितरण गरिसकेको गढवा गाउँपालिकाले दोस्रो पटकको राहात वितरण स्थगित गरेर क्वारेण्टाईन ब्यवस्थापनमा लागेको अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

सर्बदलिय बैठकमा बोल्दै प्रदेश नं. ५ का सांसद इन्द्रजित थारुले अहिलेको मुख्य चुनौति भारत लगायत तेस्रो मुलुकबाट नेपालमा भित्रिने नेपाली नागरिकहरुलाई क्वारेण्टाइनमा राख्ने र संक्रमितहरुको पिसिआर टेष्टका लागि ध्यान दिनुपर्ने बेला आएको बताए । प्रदेश सरकारले यसको लागि सबै स्थानीय तहहरुलाई पहिले नै तयारी गर्न भनेको बताउदै बर्डरबाट अनकण्ट्रोल भएर नेपालीहरु भित्रिन नदिने गरि ब्यवस्थापन भै रहेकोले कोरोनाबाट बच्न अहिलेको मुख्य आबश्यकता लकडाउनलाई थप ब्यवस्थापन गर्दै क्वारेण्टाइन ब्यवस्थापन र हरेक पालिकाहरुले कम्तिमा एक आइसुुलेसन बनाउने तयारीको काम युद्धस्तरमा गर्न सुझाब दिनुभयो ।

आइतवार बसेको सर्बदलिय बैठकले जनता माबि गढवामा ४० बेडको,सरस्वति मावी गोबरडिहा र मावी चैनपुुरमा ३०÷३० बेडको गरि कम्तिमा १ सय बेडका क्वारेण्टाइन तयार गर्ने निर्णय गरेको छ । क्वारेण्टाइन ब्यवस्थित र प्रभावकारी ढंगले संचालन गर्न सम्बन्धित वडाका वडाअध्यक्षको अध्यक्षतामा ५ सदस्यिय ब्यवस्थापन समिति,एम्बुलेन्स सेवा ब्यवस्थापन गर्न एम्बुुलेन्स ब्यवस्थापन समिति र बजारको लकडाउन ब्यवस्थापन गर्न ब्यवस्थापन उपसमिति गठन गरेको बताइएको छ ।

यसैगरी सबै वडाहरुले भारत लगायत अन्य मुुलुकहरुमा गएका तथा कामको शिलशिलामा गाउँ छोडेर नेपालका अन्य स्थानहरुमा गएका नागरिकहरुको डाटा संकलन गर्ने र त्यसको आधारमा आवश्यक परेमा वडा स्तरमा पनि सामुुदायिक क्वारेण्टाइन ब्यवस्थापन गर्ने समेत निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी गढवा बजारको लकडाउनलाई ब्यस्थित गर्न गाउँपालिका र प्रहरी प्रशासनलाई सहयोग गरेका युुवा समितिहरुलाई आ–आफ्नो टोल स्तरमा परिचालन गर्नेगरि ब्यवथापन गर्ने निर्णय भएको बताइएको छ । गढवा गाउँपालिकामा सोमबार ५ जना नागरिकहरु भारतबाट भित्रिन थालेको र उनिहरुलाई सिधै क्वारेण्टाइनमा राख्ने र स्वास्थ्यचौकी गढवा र गंगापरस्पुुरको एम्बुुलेन्सलाई भारतबाट आउने नागरिक र बिरामी बोक्नेगरी ब्यवस्थापन गर्ने निर्णय भएको प्रबक्ता अधिकारीले जानकारी दिएका छन् ।