जुम्ल्याहा बच्चासहित आमाको ‘डिस्चार्ज’

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाईनमा हुँदा जुम्ल्याहा बच्चा जन्माएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ निवासी अनिता यादवसहित दुई बच्चालाई डिस्चार्ज गरिएको हो । स्वास्थ्य अबस्था सामान्य भएपछि उनीहरुलाई आईतबार डिस्चार्ज गरिएको हो ।

तुलसी हस्पिटल प्रालिमा उपचार गरेकी आमा र दुई छोरीको अबस्था सुधार भएपछि डिस्चार्ज गरिएको डा. किशोर खत्रीले बताए । उनले तुलसीपुर उपमहानगरपालिकाका क्वारेन्टाईनमा रहेको अबस्थामा दुई बच्चाको जन्म दिएकी थिईन् । भारतबाट हिडेर चारदिनमा घर आएकी उनलाई वैशाख २५ गते क्वारेन्टाईनमा लगिएको थियो ।

क्वारेन्टाईनमा लगिएको अर्को दिन २६ गते साँझ उनलाई व्यथा लागेपछि अस्पताल लगिएको थियो । त्यस लगतै २६ गते राति सवा ९ बजेतिर दुई छोरीहरुको जन्म दिएकी थिईन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि तुलसीपुर स्थित तुलसी हस्पिटल प्रालिमा एनआइसियुमा राखेर उपचार गरिएको थियो ।

दुवै बच्चाको तौल सामान्य भन्दा कम भएकाले एनआइसियुमा राखेर उपचार गरिएको हो । पहिलो पटक जन्मेको बच्चाको तौल डेढ केजी थियो, भने दोस्रो पटक जन्मेका बच्चाको तौल १ केजी २५ ग्राम रहेको थियो । त्यसपछि उनीहरुलाई एनआईसियुमा राखेर उपचार गरिएको थियो । उनीहरु दुवै बच्चा र आमाको उपचार अस्पतालले निःशुल्क गरेको थियो । साथै आमा र दुबै छारीको स्वाब रिपोर्ट समेत नेगेटिभ आएको थियो ।