लमही नगरपालिकाले प्रत्येक वडामा सामुदायिक क्वारेन्टाइन बनाउने

भालुवाङ,  दाङको लमही नगरपालिकाले लमही ५ को देउखुरी बहुमुखी क्याम्पस र राप्ती मावि उच्चानिम्बुमा पालिका स्तरको र प्रत्येक वडामा सामुदायिक क्वारेनटाइन बनाउने र शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनलाई आइसुलेसन भवन बनाउने निर्णय गरेको छ ।  नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको पालिका स्तरीय प्रकोप व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।

साथै बैठकले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको लागि सेल्भ क्वारेनटाइनको व्यवस्था गर्न लगाउने, आवश्यक सुरक्क्षा तथा स्वास्थ्य सामाग्री खरिद गर्ने, सुरक्षा मापदण्ड भित्र रहेर दैनिक रुपमा बैंकहरु संचालन गर्न दिइने,राष्ट्रिय गौरवका योजना, तटबन्ध, पुल निर्माण लगायतका काममा पूर्ण सावधानी अपनाउन अनुरोध गर्दै संचालन गर्न दिइने निर्णय समेत गरेको छ ।