राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४२ जनाको रिपोर्ट नेगेटिभ

सिसहनियाँ , दाङ देउखुरीको राप्ती गाउँपालिकाका ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ को ऐरावती आदर्श बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा रहेका १२ जना, आदर्श नमुना मावि लालमटियामा रहेका २४ जना र होम क्वारेन्टाइनमा रहेका ६ जनाको रिपोर्ट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआरबाट परिक्षण गर्दा नेगेटिभ आएको हो ।

कामको शिलशिलामा भारत र जिल्ला बाहिरबाट पैदल तथा हुलहालमा समाबेश हुदै आएका राप्ती गाउँपालिका वडा नम्बर २, ४,५,८, ९ र बगंलाचुलीका १९ देखि ६२ वर्ष उमेरका ती पुरूषहरूको रिपोर्ट नेगेटिभ आएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

नतिजा नेगेटिभ आएपछि थप केहि दिन होम क्वारेन्टीनमा बस्ने गरि उनीहरूलाई घर पठाइएको छ । यसै बिच शनिवार भारतको पञ्चावबाट राप्ती गाउँपालिकामा आएका ३ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती गाउँपालिका वडा १ नम्बरका १ जना र वडा नम्बर २ का २ जनालाई लालमटियाको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा भर्ना गरिएको छ । उनीहरू २६,३७ र ४२ वर्ष उमेरका पुरूष हुन् । अहिले क्वारेन्टाइनमा २१ जना पुरूष बसेका छन् ।