निलसागरलाई चप्पल र लुगा दिएर मनाइन प्रमिशाले जन्मदिन
भालुवाङ , जन्म दिनमा कतिपयले केक कटाएर भोजभतेर गरेर हजारौ रकम खर्च गरिरहेका हुन्छन् । तर समाजमा यस्ता पनि व्यक्ति हुन्छन् जसले जन्म दिनमा दिनदुखीहरूको सेवामा सहयोग पनि गर्छन् ।
त्यस्तै मध्येको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी निलसागर सेवा आश्रम तथा हिको संस्थाका अध्यक्ष स्वास्थ्यकर्मी प्रकाश विष्ट र उनका धर्मपत्नी मञ्जु विष्टकी सुपुत्री प्रमिशा विष्टले आफ्नो १४ औँ जन्म दिन फरक तरिकाले मनाएकी छिन् ।
प्रमिशाले आइतवार राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमका ३० जना आमाबुवाहरूलाई पुग्ने गरि ६ हजार २ सय ८० रूपैयाँ बराबरको ३० जोडी चप्पल र ३० पिस लुङगी र हाप पाइन्ट दिएर आफ्नो जन्म दिन मनाएकी छिन् ।
विश्व व्यापीरूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले आश्रमलाई समस्या बनाएको भन्दै आफुले जन्म दिनमा दिनदुखीहरूको सेवाका लागि जन्म दिनमा थोरै भए पनि सहयोग गरेको उनले बताएकी छिन् ।