दाङमा बैंक खुल्ने बार र समय तोकियो

 दाङ, दाङको घोराही, तुलसीपुर र लमही क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र समयको निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिको आईतबार बसेको बैठकले घोराही, तुलसीपुर र लमहीका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र समय तोकेको हो ।

जस अनुसार घोराही र लमहीमा साताको दुई दिन सोमबार र बिहिबार बिहान १० देखी दिउँसो २ बजे सम्म खुल्न दिने निर्णय भएको हो । त्यसैगरी, तुलसीपुरका बैंकहरुलाई खुल्न आईतबार, मंगलबार र बिहिबार बिहान १० देखी दिउँसो २ बजे सम्म दिईने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कोरोना संक्रमणको रोकथामका लागि चालिएका सावधानीलाई अनिवार्य पालना गर्दै सेवा लिन र सेवा दिन समेत समितिले आग्रह गरेको छ । साथै बैंक तथा वित्तिय संस्थाहरुलाई भिडभाड हुन नदिन र भौतिक दुरी कायम गर्ने विषयमा बैंक तथा सेवाग्राहीलाई आग्रह गरिएको हो । यस अघि दाङमा खाद्यान्न र निर्माण सामाग्री खरिदका लागि पनि बार र समय निर्धारण भैसकेको छ ।