दाङमा तत्काल २ हजार बेड क्वारेन्टाईन बनाउने निर्णय

दाङ ,  दाङमा तत्काल थप २ हजार बेडको क्वारेन्टाईन निर्माण गरिने भएको छ । कोरोना संक्रमण फैलिदै जाँदा भारतबाट नेपालीहरु घर फर्कने क्रम सँगै जोखिम बढेपछि दाङका एक स्थानिय तहले कम्तिमा २ सय बेडको क्वारेन्टाईन निर्माण गर्ने भएका हुन् ।

कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले जिल्लाका दश वटै पालिकाले कम्तिमा २/२ सय बेडको क्वारेन्टाईन बनाउने निर्णय भएको हो । भारतबाट आउने दाङका नागरिकहरुलाई सम्बन्धित पालिकाहरुले सिमा क्षेत्रबाटै उद्धार गरि क्वारेन्टाईन ल्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए ।

बैठकले भारतबाट दाङमा आउने व्यक्तिहरुको अनुमानित तथ्यांक समेत तयार पारेको छ । १० वटा पालिकाका गरि ८ हजार व्यक्तिहरु आउने अनुमान गरिएको छ ।

अनुमानित तथ्यांक अनुसार घोराही उपमहानगरका १३ सय, तुलसीपुर उपमहानगरका २ हजार, लमही नगरपालिकाका ५ सय, बंगलाचुलीका एक हजार, शान्तिनगरका ५ सय, दंगिशरणका ५ सय, बबईका १२ सय, राजपुरका ५ सय, गढवाका ५ सय र राप्ती गाउँपालिकाका १३ सय व्यक्तिहरु भारतबाट आउने अनुमान गरिएको छ ।

साथै सीमा पारीबाट आएकाहरुको अनिवार्यरुपमा कोरोना भए नभएको पिसिआर जाँच गर्ने पनि निर्णय भएको छ । दाङमा अहिले १७ स्थानमा २ सय ८८ बेडको क्वारेन्टाईन रहेको छ । त्यसैगरी, सबै पालिकाहरुले कोरोना बाट बच्न सचेतना मूलक प्रचार प्रसारका कामलाई अघि बढाउने समेत निर्णय भएको छ ।

यसैबीच पालिकाहरुले आफ्ना पालिकामा रहेका एम्बुलेन्स सञ्चालकहरु सँग समन्वय गरी एम्बुलेन्सलाई तयारी अबस्थामा राख्ने पनि निर्णय भएको छ । त्यसैगरी, विकास निर्माणका कामहरु गर्दा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्ने गराउने तर्फ पनि पालिकाहरुले विषेश ध्यान दिने निर्णय भएको छ ।