सुत्केरीको मृत्युबारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल
काठमाडौं, धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ। बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ पाइएपछि मन्त्रालयको टोली धुलिखेल गएको हो।
सिन्धुपाल्चोकको बाह्रबीसेकी ती महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाल टेकुमा स्वाब पठाइएको छ।
विज्ञहरुले एउटा ल्याबमा पोजेटिभ आएको अवस्थामा अर्को ल्याबमा नेगेटिभ आउन सक्ने बताएका छन्। कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको मृत्यु भएपछि अहिले धुलिखेल अस्पताललाई सिल गरिएको छ। स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य ल्याबको रिपोर्ट कुरिरहेको छ।
यसैबीच कोरोना रोकथाम तथा नियन्त्रण कमाण्ड पोस्टको बैठक पनि अहिले धुलिखेलमा बसिरहेको छ। उक्त बैठकमा धुलिखेल बजार नै सिल गर्नेबारेमा चर्चा भइरहेको एक अधिकारीले जानकारी दिएका छन्।