कोरोनाकै कारण धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु भएको पुष्टि

काठमाडाैँ, स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी सुत्केरीको कोरोना भाइरसकै कारण ज्यान गुमेको जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयले शनिबार अबेर एक विज्ञप्ति जारी गर्दै उनको निधन कोरोना भाइरसकै कारण भएको जानकारी दिएको हो। नेपालमा कोभिड १९ का कारण मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी २९ वर्षीय ती महिलाको २५ गते डिस्चार्ज भएको थियो। सिन्धुपाल्चोक बाह्रबिसे राम्चेकी ती महिला बिहीबार श्वासप्रश्वासमा समस्या उत्पन्न भई धुलिखेल अस्पताल ल्याउँदा उनको निधन भएको थियो।

धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पनि पुष्टि गरेपछि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको थियो। शनिबार अबेर स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ती महिलाको निधन कोरोना भाइरसकै कारण भएको पुष्टि गरेको हो।