कर्णालीमा डुंगा पल्टिँदा ३जना बेपत्ता

काठमाडौं ,कर्णाली नदीमा डुंगा पल्टिँदा चार वर्षीय बालकसहित तीन जना बेपत्ता भएका छन्। शुक्रबार साँझ सुर्खेतको चौकुनेबाट कैलालीको मोहन्याल गाउँपालिका कोलतडी जाने क्रममा नदीमा डुंगा पल्टिएको प्रहरीले जनाएको छ।

सुर्खेतका प्रहरी प्रमुख एसपी डिल्लीराज पन्तले डुंगा पल्टिँदा सुर्खेतको चौकुने गाउँपालिका–२ का १० वर्षीय हिरु विक, मोहन्याल गाउँपालिका–२ कोलतडीकी २५ वर्षीया मानकु विक र उनका चार वर्षका छोरा धनबहादुर विक बेपत्ता भएको जानकारी दिए।

लकडाउनको समयमा पुलहरु बन्द गरिएपछि लुकिछिपी डुंगा तरेर वारपार गर्ने गरिएको छ। एसपी पन्तले नदीमा पल्टिएको डुंगाका चालक भने पौडी खेलेर बाँच्न सफल भएको खबर आएको बताए। डुंगामा कति जना सवार थिए भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।