संक्रमित बालिकाको उपचारमा खटेका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा
काठमाडौं, अस्पतालमा उपचाररत एक ६ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल महारजगञ्जका उपचारमा संलग्न चिकित्सक, नर्सलगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । अहिले न्यूरो वार्डमा रहेका ५ बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताएका छन् ।
दूधको गाडीमा काठमाडौं ल्याइएको थियो बालिकालाई
कोरोना संक्रमण पुष्टि भएकी कपिलवस्तुको वाणगंगा नगरपालिका–४ की ६ वर्षीय बालिका दूध बोक्ने गाडीमा काठमाडौं आएको पाइएको छ ।
घाँटीमा समस्या भएपछि २७ वैशाखमा बालिकासहित चार जना नजिकैको दूध डेरीको गाडीमा उपचारका लागि काठमाडौं आएा थिए । बालिकाको घाँटीमा मासु पलाएपछि पहिला पनि काठमाडौंको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उनको शल्यक्रिया भएको थियो ।
पुनः बालिकामा घाँटी दुख्ने समस्या बल्झिएपछि उनका अभिभावकले उनलाई पुनः उपचारका लागि काठमाडौं ल्याएका थिए । लु १ क ३२३९ नम्बरको गाडीमा बालिकासहित उनका दुई अभिभावक र तीन जना डेरीका कर्मचारी समेत थिए ।