नवलपरासीमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या २४६
प्रकासित मिति : २०७७ जेष्ठ १, बिहीबार १३:२५
प्रकासित समय : १३:२५
काठमाडौं, नवलपरासीका थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार (आज) भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुषमा संक्रमण देखिएको हो ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी देवचुली १२ का ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको जानकारी दिए ।
“आज बिहानै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना संक्रमण देखिएको थियो,” उनले भने, ‘‘अहिले थप एकजनामा संक्रमण देखिएको हो ।’’ नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २४६ पुगेको मन्त्रालयले जनाएको छ ।