दमाई भन्दै कुटपिट गर्ने राई पक्राउ

जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ। सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए।

तिङ्लाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिबार आफूमाथि जातीय विभेद गरेको भन्दै मीनबहादुरले प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा सङ्गीतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

‘सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेको’ मीनबहादुरको जाहेरीमा उल्लेख छ। नेपालको संविधान २०७३ को भाग ३ को धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकबारे प्रष्ट उल्लेख गरिएको छ।