साउदीमा संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुग्यो

काठमाडौं, साउदी अरबमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ ।

रियादस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार हालसम्म साउदीमा ११ जना महिलासहित ६७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । दूतावासका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो ।

सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, पश्चिम क्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १ सय ४८ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका नेपाली दूतावास रियादले जनाएको छ। संक्रमित भएका मध्य केही नेपाली निको भइ काममा फर्किसकेका छन् ।

साउदीमा कोरोना भाइरसबाट सबै देशका नागरिक गरी कुल संक्रमितको संख्या ४२ हजार ९ सय २५ पुगेको छ । मंगलबार थप १ हजार ९ सय ११ जनामा संक्रमण भएको छ । मंगलबार एकै दिन २ हजार ५ सय २० जना निको भएका छन् । कूल संक्रमितहरु मध्ये हालसम्म १५ हजार २ सय ५७ जना निको भएका छन् । साउदीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हालसम्म मंगलबार ९ जना सहित २६४ जना संक्रमितको मृत्यु भएको छ ।

दूतावासका अनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्‍न कारणले ३१ नेपाली नागरिक को मृत्यु भएको छ।ती मध्य कोरोनाका कारण भने एक जना नेपालीले ज्यान गुमाएका छन्।