कर्मचारीमा कोरोना देखिएपछि आरोग्य प्रतिष्ठानमा सिल
काठमाडौं, ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा प्रहरीले सिलबन्दी गरेको छ । आरोग्यमै कार्यरत एक महिला कर्मचारीमा कोरोना देखिएपछि अस्थायी रुपमा सिल गरिएको हो । प्रहरीका अनुसार प्रतिष्ठानमै कार्यरत महिला कर्मचारी चैत ९ गते सुनसरी गएकी थिइन् । उनी वैशाख २९ गते काठमाडौं आएकी थिइन् ।
काठमाडौं फर्किने क्रममा उनी साँगाबाट आरोग्यकै दमकलमा आएकी थिइन् । एक प्रहरी अधिकारीले भने, “बाहिरबाट आएको पाइएपछि आरोग्यले महिलाको कोरोना परीक्षण गर्न टेकु लगेको थियो । त्योबेला निदान अस्पतालको एम्बुलेन्स प्रयोग भएको थियो । हिजो राति उहाँमा कोरोना पाजेटिभ देखियो ।”
सुनसरीबाट फर्किएपछि ती महिला कर्मचारी भने कार्यालय नआएको बताइएको छ । निदान अस्पतालको एम्बुलेन्स प्रयोगकर्तामै कोरोना देखिएपछि एकदिनका लागि अस्पताल सिल गरिएको अस्पतालका सीईओ विपिन प्रधानले जानकारी दिए ।