३५ सय भारतीय सैनिकलाई चुनौति दिन २५ जनाको सशस्त्र टोली सिमामा
काठमाण्डौ, नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको स्थाल दार्चुलाको छाङग्रुमा आफ्नो उपस्थिति जनाउन नेपाल सरकारले सशस्त्र प्रहरीको एउटा टोली घटनास्थलमा पठाउने भएको छ । शसस्त्र प्रहरीका इन्स्पेक्टर लिलिबहादुर चन्दको कमाण्डमा भोलि बुधवार २५ जनाको सानो टुकडी छाङग्रु पठाइने गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ । सो टोली शुक्रबारसम्ममा भित्र छाङग्रु पुग्नेछ ।
दार्चुलाको सिमापारि भारतीय क्षेत्रमा भने करिब ३५ सय आधुनिक हतियार धारी भारतीय सुरक्षाकर्मी तैनाथ रहेको बताइएको छ । स्थलसेनाको दुई कम्पनी, आइटिबिपी (इण्डियन टिबेट बोर्डर पुलिस ) को चार कम्पनी र सिमा सुरक्षा बल (एसएसबी) को दुई बटालियनमा आवद्ध सैनिकहरुलाई अत्याधुनिक हतियार सहित तैनाथ गरिएकोले त्यसको काउण्टरको लागि सामान्य हतियार सहित केवल २५ जनाको टुकडी पठाइनुले नेपालको सिमा सुरक्षाको अवस्था के छ भन्ने स्पष्ट हुन्छ ।
तर, गृहमन्त्रालयका अधिकारीहरु भने भारतसंग लड्न नभै नेपाली सिमाको रक्षा गर्नको लागि नेपाली सुरक्षाकर्मी सिमा क्षेत्रमा जान लागेकोले भारतसंग तुलना नगर्न अनुरोध गर्छन् । ‘अहिलेको सिमा विवादमा हामीले लडेर भन्दा कुटनीतिक पाराले समाधान गर्ने विषय हो । त्यसैले पारि कति सैनिक तैनाथ छन् र हामीसंग कति छन् भनेर तुलना गर्ने कुरै होइन, हाम्रो सिमा सुरक्षामा सरकार संवेदनशिल छ भन्ने कुरा पुष्टि गर्नको लागि यो टोली जान लागेको हो’ गृहमन्त्रालयका एक अधिकारीले जनतापाटीसंग भने । उनले आवश्यकताअनुसार सरकारले सिमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाउंदै लैजाने बताए । उनकाअनुसार त्यो क्षेत्रमा प्रहरीको टुकडी होइन सयौंको संख्यामा सुरक्षाकर्मीको गुल्म नै राख्ने आन्तरिक तयारी भैरहेको छ ।
नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत भोलि बुधबार जान दार्चुला जान लागेको सशस्त्र प्रहरीको सो टोलीले आफ्नो साथमा कम्तिमा ६ महिनाको राशन, हतियार, गोलीगठ्ठा, सञ्चार सेट, जाडो तथा गर्मी यामको लागि आवश्यक पर्ने कपडाहरु, औषधी पनि साथमै लैजाने भएको छ । हाल दार्चुलाको शसस्त्र प्रहरी गुल्ममै रहेका इस्पेक्टर लिलिबहादुर चन्द भने उतैबाट टोलीमा मिसिने बताइएको छ ।
दार्चुला सदरमुकाम खलंगाबाट १ सय ३ किलोमीटर टाढा छाङग्रु पर्छ । छाङग्रुमै नेपाल प्रहरीको एउटा टुकडी पनि रहेको छ । सरकारले छाङग्रुमा सुरक्षाकर्मीको लागि अत्याधुनिक हिटिङ्ग सिस्टमसहितको भवन बनाउने निर्णय यस अघि नै गरिसकेको छ । त्यसको लागि ९ करोड रुपैंया विनियोजन गरि निर्माण कार्य अगाडि बढाउने तयारी गर्रिको छ । सो भवन बनेपछि कम्तिमा १ सय ५० जना सुरक्षाकर्मीले पुस माघमा समेत निर्धक्कसंग बस्न सक्ने बताइएको छ ।