रुपन्देही र कपिलवस्तुका २२ जना संक्रमित लकडाउनकै समयमा भारतबाट आएका
काठमाडाैँ, हिजो सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका रुपन्देही र कपिलवस्तुका २२ जना सबै यसै हप्ता भारतबाट स्वदेश फर्केका थिए। सोमबार कपिलवस्तुमा १६ र रुपन्देहीमा ६ जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ ।
कपिलवस्तुमा संक्रमण पुष्टि भएका सबै भारतबाट आई क्वारेन्टाइनमा बसेको जिल्लाका प्रमुख जिल्ला अधिकारी दीर्घनारयण पौडेलले बताए। यसैगरी रुपन्देहीमा अहिलेसम्म कोरोना पोजेटिभ देखिएका सबै ७ जना भारतबाट आएकाहरु रहेको प्रमुख जिल्ला अधिकारी महादेब पन्थले बताए ।
रुपन्देहीमा सोमबार ६ जनामा कोरोना पुष्टि भएको छ । समरीमाई गाउँपालिकामा ४ जना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जनामा कोरोना पुष्टि भएको हो ।
समरीमाई गाउँपालिका वडा नम्बर ७ बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ जनामध्ये वडा नम्बर १ का एकजना र वडा नम्बर ४ का ३ जनामा कोरोना पुष्टि भएको समरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले बताए ।
भैसागाहन स्थित क्वारेन्टाइनमा रहेका मध्ये वडा नम्बर १ का ४६ वर्षका पुरुष मुम्बईबाट वैशाख २५ गते आएका थिए । उनी लुकिछिपी सीमा पार गरेर आइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा लगिएको थियो ।
यसैगरी सोही क्वारेन्टाइनमा रहेका अन्य तीन जना २६ गते मुम्बईबाट आएका थिए । ४५ वर्ष, २६ वर्ष र ३० वर्ष उमेरका तीनैजना पुरुष वडा नम्बर ४ का हुन् । उनीहरु पनि लुकिछिपी सीमावारी आएका हुन् ।
भैसागाहनस्थित क्वारेन्टाइनमा अहिले ती चार जनासहित ४७ जना रहेका छन् । मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षिय युवामा कोरोना देखिएको थियो । उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ जनामध्ये २ जनामा सोमबार कोरोना पोजेटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए ।
कपिलवस्तु र रुपन्देहीको अधिकांश भूगोल भारतसँग खुल्ला सीमाना छ । उक्त क्षेत्रमा अहिले पनि सयौं मान्छेहरु स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु रातिको समयमा लुकिछिपी नेपाल प्रवेश गरिरहेको बुझिएको छ ।