नेपालमा एकै दिन ५७ जनामा कोरोना, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित फेला परेका छन् । आज भेटिएका कोरोना संक्रमितमध्ये पर्सामा मात्र ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालमा हालसम्म ३३ जनाभन्दा धेरै निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।