चीनमै अड्कियो सेनाले खरिद गरेको स्वास्थ्य सामग्री
काठमाडौं, परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य चाँडो भन्सार क्लियरेन्स गरिदिन आग्रह गरे ।
तर, चिनियाँ पक्षले सो प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री चीनको ग्वान्झाउ विमानस्थलमा थन्किएको छ । चिनियाँ पक्षले भन्सार प्रक्रिया पुरा गर्न विलम्ब गर्दा सामग्री ल्याउन ढिलाई भएको रक्षा मन्त्रालय स्रोतको दाबी छ ।
चीनबाट ल्याइने प्रत्येक स्वास्थ्य सामग्रीको त्यहाँको भन्सार कार्यालयले लेबलिङ गर्ने र त्यसपछि मात्र निर्यातका लागि प्रमाणपत्र दिने गरेको छ । सोही प्रक्रिया पुरा गर्न समय लागेको रक्षा मन्त्रालयका अधिकारी बताउँछन् ।
चीनले भन्सार क्लियरेन्समा कडाइ नीति अवलम्बन गरेका कारण सामग्री ल्याउन केही समय लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनले भने, ‘स्वास्थ्य सामग्री ल्याउन हामीले नेपाल एयरलाइन्सको जहाज तयारी अवस्थामा राखेका छौ । चीनले भन्सार क्लियरेन्स दिनेबित्तिकै ती सामग्री ल्याउँछौ ।’ चिनियाँ पक्षले पनि भन्सार क्लियरेन्सको काम नसकिएको जवाफ नेपाली सेनालाई दिएको छ ।
स्थलमार्गबाट आउने केही सामग्री भने ग्वान्झाउबाट नेपालका लागि छुटिसकेको छ । चीनको ग्वान्झाउ विमानस्थलमा हवाई माध्यमबाट पहिलो चरणमा नेपाल ल्याउनुपर्ने झण्डै ४८ टन स्वास्थ्य सामग्री थन्किएको हो । स्थलमार्गबाट ल्याइने झण्डै ३० टन स्वास्थ्य सामग्रीहरु भने ग्वान्झाउबाट हिंडिसकेको छ । ती सामग्रीहरु तातोपानी नाका हुँदै अर्को हप्तासम्ममा काठमाडौ आउने बताइएको छ ।
नेपाली सेनाले कोरोना भाइरस रोकाथाम र नियन्त्रणका लागि ३ सय ४२ टन स्वास्थ्य सामग्री चिनियाँ कम्पनीबाट खरिद गरेको छ । बाँकी सामग्रीहरु क्रमशः ल्याइने सेनाले जनाएको छ । सेनाले स्वास्थ्य सामग्री उपलब्ध गराउने चिनियाँ कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’लाई १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलव ३५ अमेरिकी डलर (२ अर्ब २० करोड रुपैयाँ वढी) अग्रिम भुक्तानी गरेको थियो । अन्नपूर्ण पोष्टबाट