कोरोनाबाट बच्न सांसदहरुलाई १३ बुँदे नियम

काठमाडाैँ, संघीय संसद् सचिवालयले सांसदहरुलाई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको छ। सचिवालयले १३ बुँदे नियम जारी गर्दै सांसदहरुलाई बैठकपछि घरमा गई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको हो।

यसैगरी, सदन वा समितिको बैठकमा आउँदा अत्यावश्यक सहयोगी र सुरक्षाकर्मी बाहेकलाई नल्याउन अनुरोध गरिएको छ। सांसदका सहयोगी र सुरक्षाकर्मीलाई आ–अफ्नै गाडीभित्र बस्न अनुरोध गरिएको छ।

संसदमा प्रवेश गर्दा साबुनपानीले हात धोएर प्रवेश गर्न आग्रह गरिएको छ भने संसदभित्र प्रवेश गर्दा वा बाहिरिँदा छुटाछुटै द्वारबाट प्रवेश गर्न आग्रह गरिएको छ। तोकिएको कुर्सीमा बस्न, संसदभित्र मास्क प्रयोग गर्न, हल र लवीमा समाजिक दूरी कायम गर्न सांसदहरुलाई सचिवालयले आग्रह गरेको छ।

यसैगरी चमेना गृह प्रयोग गर्दा एक पटकमा एउटा टेबलमा एक जना मात्र बस्न सचिवालयले आग्रह गरेको छ। सचिवालयको आग्रहका बाबजुद पनि सांसदहरुले यी नियमको पालना गर्न आनाकानी गरेको सचिवालयका अधिकारीहरुले बताएका छन्।