सरकारले राजदूतमार्फत् दियो भारतलाई लिपुलेकबारे ’कूटनीतिक नोट’
काठमाडौं, नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि लिपुलेकमा सडक बनाएको बारेमा कूटनीतिक नोट दिएको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा सुनाएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सचिव शंकर वैरागीले राजदूत क्वात्रालाई नेपाली भूभागभित्र रहेको लिपुलेकमा बिनासूचना र जानकारी भारतीय पक्षले सडक निर्माणसहितका गतिविधि जारी राखेकोमा ‘कूटनीतिक नोट’ दिएको परराष्ट्र स्रोतले जनाएको छ ।
नेपाली भूमि मिचेको बारेमा नेपालले भारतीय पक्षसँग पटक पटक उच्चस्तरीय वार्ताको पहल गरे पनि सम्भव नभएको बताएको छ । यस पटक पनि भारतले कोभिड १९ को संकटपछि मात्रै कुराकानी गर्ने जवाफ नेपाललाई पठाएको थियो ।
तर भारतको हेपाहा प्रवृत्तिविरुद्ध देशभर आक्रोश बढेको र सरकार घेरामा परेपछि परराष्ट्र मन्त्रालयले तत्कालै भारतसँग वार्ता गर्न चाहेको बताएको छ । यह िबीचमा राजदूत क्वात्रालाई बोलाएर कूटनीतिक नोट थमाएको हो । गत शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।