यसरी भारतबाट लुक्दै-छिप्दै आएका थिए कपिलवस्तुका १० संक्रमित

कपिलवस्तु, भारतबाट आएका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना सङ्क्रमितको संख्या १५ पुगेको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतको मुम्बईबाट लुकिछिपी आएका कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका दुई र यशोधरा गाउँपालिका– ५ का आठ जना युवामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

आठ युवक वैशाख २० गते मुम्बईबाट आएर अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए । अनिरुद्ध र पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा रहेका ६२ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आठ जनामा कोरोना सङ्क्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले बताए ।

बुद्धभूमि– ७ मानपुर र वडा नं १० धनकौलीका एक–एक जना युवकमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य संयोजक डोलविक्रम बेल्वासेले जानकारी दिए । गोरुसिङ्गेस्थित गौतमबुद्ध बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका १२५ जनाको स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो । गोरुसिङ्गेको क्वारेन्टाइनमा २१६ जना रहेको संयोजक बेल्वासेले बताए ।

सङ्क्रमितलाई कोरोना विशेष अस्पताल बुटवल पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यसअघि मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १२० पुगेको छ ।