निगरानी कि खबरदारी ! कालापानीको आकाशमा भारतीय सेनाको हेलिकोप्टर ?
काठमाडौं, नेपालमा अतिक्रमित भूमि कालापानी-लिपुलेकको मुद्दा चर्किँएकाे बेला भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको पाइएकाे छ। स्थानीयका अनुसार अहिले भारतीय सेनाका हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन्। नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको भारतले सैनिक हेलिकप्टरबाट त्यहाँ ओहोरदोहोर बढाएको छ। सोमबारमात्रै चारपटक भारतीय सेनाको हेलिकोप्टरले ओहोरदोहोर गरेको दार्चुलाका स्थानीयबासीले बताएका छन ।

तस्बिरः नरेन्द्र कार्कीबाे वालबाट
‘भारतीय सेनाको हेलिकोप्टर खेपका खेप उडिरहेका छन्। कालापानीमा समान पुर्याउन होला,’ सदरमुकाम खलंगाबाट फोन सम्पर्कमा आएका उनले अनुमान गरे, ‘सडक उद्घाटन भएपछि यस क्षेत्रमा चहलपहल बढेको छ। धारचुलाका एसडिएम पनि हिजो कालापानी गएको सुन्नमा आएको छ।’
भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक-मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि नेपालमा एकपटक फेरि कालापानी र लिपुलेक मुद्दा चर्किएको छ। सरकारले कालापानी क्षेत्र नजिकै पर्ने दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना गर्ने र तत्कालै सुरक्षाकर्मी पठाउने तयारी गरिरहेको छ। यहीँ बुधबार सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली छाङरु पठाउने सरकारी तयारी छ।
जिल्ला प्रशासन कार्यालयले पनि कालापानीतर्फ भारतीय सेनाका हेलिकोप्टर उडिरहेको पुष्टि गरेको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले दैनिक ५/६ पटक भारतीय हेलिकोप्टर कालापानीतर्फ गइरहेको बताए। ‘मेसिन, सामान ढुवानी गर्न हेलिकोप्टर रेगुलर गइरहेका छन्। सेना राखेको छ। बन्दोबस्तीका सामान लग्छ होला,‘ उनले भने।