अमेरिकामा कोरोनाविरुद्धका तीन मुख्य रणनीतिकार नै आइसोलेशनमा
एजेन्सी, अमेरिकामा कोरोना भाइरसविरुद्धको लडाईका मुख्य तीन योद्दा नै आइसोलेशनमा गएका छन् । कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि महत्वपूर्ण रणनीति बनाउने ह्वाइटहाउस कोरोना भाइरस टास्क फोर्सका तीन उच्च सदस्यहरु सेल्फ–आइसोलेशनमा गएका हुन् ।
कोरोना संक्रमितसँगको सम्पर्कमा आएकाले आफूहरुमा पनि कोरोना संक्रमण भएको हुनसक्ने आशंकामा उनीहरु दुई साताका लागि आइसोलेशनमा गएका हुन् । कोरोना भाइरसविरुद्धको वर्तमान युद्धमा अमेरिकाका प्रमुख व्यक्ति बनेका डा.एन्थोनी फाउचीसहितका तीन अधिकारी आइसोलेशनमा हुन् ।
उनी प्रमुख रहेको नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजले डा.फाउचीमा संक्रमण भएको हुन सम्भावना भने न्यून रहेको बताएको छ । सुरुवाती परीक्षणमा फाउचीमा संक्रमण देखिएको छैन । ७९ वर्षका फाउचीले दुई साता आइसोलेशनमा बस्ने क्रममा घरबाटै काम गर्नेछन् ।
आइसोलेशनमा बस्नेमा डा.फाउचीसहित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक डा.रोबर्ट रेडफिल्ड र फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) का आयुक्त स्टिफन हान रहेका छन् ।
उपराष्ट्रपति माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । उनी ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन् । ट्रम्पको सुरक्षामा खटिने एक सुरक्षाकर्मीमा पनि गत बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
डा.फाउचीसहितले संक्रमितको सम्पर्कमा आएकाले आफूलाई आइसोलेशनमा राखे पनि उपराष्ट्रपति पेन्स भने आइसोलेशनमा बसेका छैनन् । आइसोलेशनमा गएका डा.फाउचीसहित तीन जनामा नै संक्रमण देखिएको छैन भने स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ ।