लिपुलेकमा भारतसंगै चीन पनि संग्लन छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक विवादमा भारत मात्र नभएर चीन पनि संग्लन रहेको बताएको छ । यस विषयमा त्रिदेशीय छलफल गर्नुपर्ने उनको भनाई छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रचण्डले सीमा विवादका विषयमा चीन सरकारसँग पनि छलफल गर्नुपर्ने बताए। उनले बाटो प्रकरणसम्म पुग्दा नेपाल, भारत र चीन त्रिदेशीय छलफल गर्नुपर्ने बेला आएको बताए।

‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्वनेपाल हो पश्चिम भारत हो भन्न्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्छ जे भनेको थियो’ प्रचण्डले भने ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ । त्यहाँ चीन पनि संलग्न भएको छ, भारत चीनको सम्झौता सहमति भएको हुनाले ।’

भारत र चीनबीच लिपुलेक हुँदै ब्यापार विस्तार गर्ने विषयमा २०७२ सालमा समझदारी भएको थियो । अध्यक्ष प्रचण्डले सीमा विवादको विषय अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने बताए ।