भारतीय हस्तक्षेप विरुद्ध संसद् भवन अगाडि प्रदर्शन, थुप्रै विद्यार्थी पक्राउ

काठमाडौं, भारतले लिपुलेक क्षेत्रमा सडक बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन गर्न गएका विद्यार्थीहरु पक्राउ परेका छन्। आइतबार बिहान सीमा मिचेको विरोधमा प्रदर्शन गर्न गएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का १० जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रविन जंग वस्नेत, समीर बुढाथोकी मुक्ति, भुमीराज अधिकारी, निर्गराज जैसी , प्रवेश दहाल  गोबिन्द भण्डारा, सङ्हर्श दाहाल, गोबिन्द बिष्ट, हरि भण्डारी, राम नरेश यादव र हिक्मत महरा रहेका हुन्। उनीहरुलाई तीनकुने प्रहरी चौकीमा राखिएको छ ।

शनिबार पनि उनीहरुले माइतीघर मण्डलामा विरोधमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा पक्राउ परेपछि उनीहरु शनिबार राती नै छुटेका थिए। ‘ओली सरकार राजीनामा दे, सीमा सुरक्षामा सुरक्षाकर्मी खटाउ’ भन्दै नारा लगाउँदै प्रदर्शनमा उत्रिए उनीहरुलाई प्रहरीले लकडाउन र सरकारको विरोध गरेको भन्दै पक्राउ गरेको हो।

भारतले शुक्रबार मात्रै नेपाली पक्षसँग सल्लाह नै नगरी नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भू-भाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्नेसम्मको लचकता देखाउँदासमेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।

उक्त सडक भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोको रूपमा हेर्न सकिन्छ। यो सडक भारतको राजधानी दिल्लीबाट लिपुलेकको दूरी सात सय ५० किलोमिटर हुन्छ र त्यहाँबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ।