भारतको जवाफ– सडक बनाएको जमिन हाम्रै हो
काठमाडौं, नेपाली भूमि लिपुलेकमा सडक बनाएर उद्घाटन गरिसकेको भारतले उक्त सडक आफ्नै भूमिमा भएको दावी गरेको छ । नेपाली भूमिमा सडक बनाइएपछि त्यसप्रति नेपालमा सुरू भएको विरोध र नेपाल सरकारले आपत्ति जनाएकोप्रति जवाफ दिँदै भारतीय विदेश मन्त्रालयले उक्त सडक आफ्नै भूमिमा बनेको दावी गरेको हो ।
उत्तराखण्डबाट नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएको भूभाग आफ्नै भएको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतले शुक्रबार उद्घाटन गरेको सडकका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको जानकारीमा आएको छ।
उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा बनाएर भर्खरै उद्घाटन गरिएको सडक पूर्णरुपमा भारतीय भूभागमा पर्छ। कैलाश मानसरोवर जाने तिर्थालुहरुले पहिलेदेखि प्रयोग गर्दै आएको रुटलाई तिर्थालु, स्थानीय र व्यापारीहरुका लागि सहज र सुविधाजनक बनाइएको हो।’
भारत र नेपालले सीमा समस्या समाधानका लागि संयन्त्र बनाएको र सीमा समस्या समाधानका लागि पहल भइरहेको भारतले जनाएको छ। सीमा समस्या समाधान कूटनीतिक संवादमार्फत् समाधान गरिने उसको भनाइ छ। चाँडै वार्ता गरेर दुवै पक्षका समस्या समाधान गरिने विज्ञप्तिमा जनाइएको छ।
भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएको भन्दै नेपालले आपत्ति जनाएपछि भारतीय विदेश मन्त्रालयको विज्ञप्ति आएको हो। परराष्ट्र मन्त्रालयद्वारा शनिबार जारी विज्ञप्तिमा भारतको कदमले नेपाललाई दुःखी तुल्याएको जनाइएको छ।
लिम्पियाधुरा, कालापानी र लिपु लेकसहित काली ।महाकाली० नदीको पूर्व क्षेत्र नेपाली भूभाग हो भन्ने कुरा नेपाल सरकारले विगतदेखि नै पटकपटक दोहोर्याउँदै आएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
पछिल्लो समयमा पनि यो कुरा नेपाल सरकारले धेरै पटक दोहोर्याएको र भारत सरकारलाई सम्बोधन गरिएको विज्ञप्तिमा स्मरण गराइएको छ । भारतले जारी गरेको नक्शाका सम्बन्धमा कूटनीतिक नोटसमेत पठाइएको परराष्ट्रको भनाइ छ।
भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्घाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ। शनिबारमात्रै अनेस्ववियूले लौनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने तयारी गरेको थियो। तर, प्रदर्शन अगाडि नै प्रहरीले अनेरास्ववियूका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।
यसै विषयलाई लिएर प्रदर्शनमा उत्रिएका ३३ जनालाई प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको छ। यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसबारे सरकारको धारणा माग गरेको छ । साझा पार्टीले भारतले सबै अतिक्रमित भूमि छोडेर नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपर्ने बताएको छ। भारतीय कदम अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले जनाएको छ।
साझाले सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट परिणाममुखी कूटनीतिक संवाद हुन नसक्नु दुखद् भएको बताएको छ। साझाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो कूटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ।’
यसैबीच, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार साँझ संयुक्त वक्तव्य जारी गरेका छन्।
कोरोना भाइरसले विश्व नै आक्रान्त भइरहेको समयमा भारतले नेपाली भूमिमाथि अतिक्रमण गर्नु निन्दनीय रहेको विज्ञप्तिमा बताइएको छ। सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन विज्ञप्तिमा आग्रह गरिएको छ।
सुगौली सन्धीसहितका सबै ऐतिहासिक प्रमाण र तथ्यहरुले यो भूमि नेपालकै भएको देखाएको दुई अध्यक्षले बताएका छन्। ‘विदेशमन्त्रीस्तरीय वार्ताका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयले लिएको पहलकदमीअनुसार अविलम्ब वार्ता गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
दुवै सरकारलाई वार्ता र कूटनीतिक माध्यमले यो समस्याको समाधान गर्न विज्ञप्तिमा आग्रह गरिएको छ। साथै नेकपाले सडक निर्माण कार्यलाई तत्काल रोक्न र यो मुद्दालाई जटिल बनाउने कुनै पनि कार्य नगर्न भारतलाई आग्रहसमेत गरेको छ।