ओबामाले गरे महामारी नियन्त्रणमा ट्रम्प प्रशासनको आलोचना

एजेन्सी, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा ट्रम्प प्रशासनले चालेका कदम अस्तव्यस्त रहेको भन्दै कडा आलोचना गरेका छन् । उनले ट्रम्प प्रशासनले कोरोना भाइरसको नियन्त्रणका लागि चालेका कदम अपर्याप्त भएको टिप्पणी गरेका छन् । एक निजी कन्फ्रेन्स कलमा ओबामाले अमेरिकाले महामारी नियन्त्रणका लागि गरेका कामहरु ‘स्पष्ट रुपमा अस्तव्यस्त विपद’ जस्तो देखिएको उल्लेख गरेका छन् ।

पूर्व राष्ट्रपति ओबामाले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जोए बाइडेनको पक्षमा विस्तारित भूमिका निर्वाह गर्न चाहेको बताएका छन् । उनले यसअघि नै राष्ट्रपतिको उम्मेदवारीमा बाइडेनलाई समर्थन गरिसकेका छन् । बाइडेन ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए । आफ्ना पूर्व कर्मचारी तथा सहयोगीहरुसँगको कन्फ्रेन्स कलको क्रममा ओबामाले बाइडेनको चुनावी अभियानमा काम गर्न आग्रह गरेका छन् ।

 

डोनाल्ड ट्रम्प प्रशासनले अपनाएको रणनीतिका कारण कोरोना भाइरसको महामारी भयानक बनेको उनको आरोप थियो । उनले भनेका छन्, ‘सरकारले बलियो र राम्रो रणनीतिका साथ काम गरेको भए पनि कोरोना भाइरसको महामारी खराब नै हुने थियो । तर अहिलेको प्रशासनको प्रयास पर्याप्त नहुँदा अवस्था झनै खराब भएको छ ।’

कन्फ्रेन्समा सहभागीहरुले वर्तमान प्रशासनले महामारीमा पनि आफ्नो स्वार्थ अनुकुलको मुनाफा खोजेका कारण समस्या विकराल बनेको बताएका थिए । ओबामाले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनमाथिको आपराधिक अभियोग खारेज गरिएको घटनाको पनि कडा आलोचना गरेका छन् । अमेरिकी न्याय विभागले सन् २०१६ को चुनावमा ट्रम्पलाई फाइदा हुने गरी रुसले गरेको भनिएको हस्तक्षेपमा सहयोगीको भूमिका निर्वाह गरेको अभियोग लागेका फ्लीनमाथिको आरोप खारेज गरेको थियो ।