५० हजार किट मौज्दात छ, परीक्षण तिव्र बनाउँछौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि ५० हजार पिसिआरको किट मौज्दात रहेको जनाएको छ। मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफिङका क्रममा ५० हजार पिसिआरको किट मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन्। कोरोना परीक्षणको दायरा बढाउँदै लैजानेसमेत प्रवक्ता डा. देवकोटाले बताए।

नेपालमा हालसम्म १६ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण भएको प्रवक्ता डा देवकोटाले बताए। शनिबार बिहान ७ जना थपिएसँगै संक्रमितको संख्या १ सय ९ पुगेको थियो। संक्रमितमध्ये हालसम्म उपचारपछि ३१ जना डिस्जार्च भइसकेका छन्। मन्त्रालयका अनुसार हाल उपचाररत ७८ जनाको स्वास्थ्य अवस्था सामान्य छ।

मन्त्रालयले उदयपुर, रौतहट, पर्सा र बारामा ५ हजार ३ सय २० जनाको नमूना संकलनका लागि टोली खटाएको छ। हालसम्म ४ सय बढीको नमूना संकलन गरिएको देवकोटाले जानकारी दिए।

कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र २ र बाहिर १ सय ४१ गरी कुल १ सय ४३ जना अस्पतालको आईसोलेसनमा भर्ना भएका छन्। मुलुकभर हाल १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।