सीमा मिचिएको बिरोध गर्नेहरू माइतीघर र बानेश्वरबाट पक्राउ
काठमाडाैँ, लिपुलेक तथा कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा काठमाडौंको माइतीघर तथा बानेश्वरमा प्रदर्शन गर्नेहरु पक्राउ परेका छन्। ‘बोर्डर सेभ मुभमेन्ट’ को ब्यानरमा प्रदर्शन गर्ने ३३ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ३२ जना पुरुष र एक जना महिला छन्।
प्रदर्शनकारीहरुले ‘सरकार सीमा मिचियो कि बेचियो ? लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायत लेखिएका प्लाकार्ड प्रदर्शन गरेका थिए। पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।
आज नै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने तयारी गरिरहेका अनेरास्ववियूका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सत्तारुढ दल नेकपा निकट अनेरास्ववियुका विद्यार्थीहरुले दिउँसो १ बजे विरोध प्रदर्शनको तयारी गरेका थिए। तर, प्रहरीले उनीहरुलाई १५ मिनेटअघि नै नियन्त्रणमा लिएको छ। उनीहरुलाई अहिले भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबमा राखिएको छ।