म्याग्दीमा डेंगुको प्रकोपः थप २ जनामा संक्रमण, संक्रमित संख्या ९ पुग्यो
म्याग्दी, कोरोना भाइरस सङ्क्रमण जोखिमकाबीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि मानिसहरू त्रसित बनेका छन् । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बेनी नगरपालिका–५ भिरमुनि र बेनी नगरपालिका–६ छापाका दुई युवामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले जानकारी दिए ।
गत हप्ता पनि म्याग्दीमा दुई जनामा डेङ्गु पोजेटिभ देखिएको थियो । यससँगै बेनी नगरपालिकामा छ, मङ्गलामा दुई र मालिका गाउँपालिकामा एक जना डेङ्गुका बिरामी भेटिएका छन् । शुक्रबार भेटिएका दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । बिरामीमा मनोवैज्ञानिक असर पर्ने भएकाले स्वस्थ्यकर्मीले सङ्क्रमितको नाम र थरबारे जानकारी दिएका छैनन् ।
डेङ्गुले प्रकोपको रूप लिनसक्ने जोखिमलाई मध्यनजर गरी नगरभित्रका वडामा सचेतनामूलक कार्यक्रमसँगै डेङ्गुरोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ ।
गत वर्ष म्याग्दीमा १२ जनामा डेङ्गु र एक जनामा स्क्रबटाइफस देखिएको थियो । डेङ्गु ज्वरो एडिस एजिप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो ।