अखिल क्रान्तिकारीद्वारा भारतीय अतिक्रमणविरुद्ध आन्दोलन घोषणा

काठमाडाैँ, अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि हस्ताक्षेप गरेको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउनेसहितका संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

अखिल क्रान्तिकारीका उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपालीभूमि मिचेर भारतले सडक निमाण गरिएकोप्रति आपत्ति जनाए । उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि विश्व लकडाउन भएको मौका छोप्दै भारतले नेपालीभूमी मिचेर चीनको सीमा मानसरोवर जोड्ने सडक निर्माण गरेर नांगो हस्तक्षेपलाई बढाएको बताए ।

‘कारोना महामारीका कारण विश्व लकडाउनमा रहेको मौका छोपी नेपालको लिपुलेक, कालापानी क्षेत्रमाथि भारतीय साम्राज्यवादद्वारा नेपालको राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेपलाई अरु बढाएको छ । गत कार्तिकमा भारतद्वारा लिपुलेकको ३७२ वर्ग किलोमिटर सीमा अतिक्रमण गरेपछि नेपालका सबै देशभक्त तथा राष्ट्रवादीहरू आन्दोलित भइरहेको बेला फेरि भारतीय शासक वर्गले मानसरोबर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत् उक्त सडकको उद्घाटन गरेका छन । यो नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्बभौम सत्तामाथिको नांगो हस्तक्षेप हो ।’