सरकारले शासन गर्ने राजनीतिक र नैतिक अधिकार गुमायो : देउवा

काठमाडौं, काँग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरेका छन् । सरकारले शासन गर्ने राजनीतिक र नैतिक अधिकार गुमाएकाे दाबि गरेका छन ।

सभापति देउवाले सरकारले कोरोनाको महामारीको बेलामा पनि स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, सासद अपहरण भएको, संविधानविपरीत राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर अधिनायकवादी महत्त्वाकांक्षा देखाएको भन्दै सरकारको कडा आलोचना गरे । उनले सोही कारण सरकारले शासन गर्ने राजनीतिक र नैतिक अधिकार गुमाएको टिप्पणी गरे । 

प्रतिनिधिसभाको शुक्रबारबाट सुरु बजेट अधिवेशनमा कांग्रेस संसदीय दलका नेता देउवाले अपहरणमा सरकारकै संंलग्नता हुनु दुर्भाग्यपूर्ण भन्दै दोषीमाथि कारबाहीको माग गरेका हुन् । उनले सांसद अपहरणको घटनाको निन्दा गर्दै यस्तो माग गरेका हुन् ।

“कोरोनाको संकटका बेला सरकारमा नभए पनि संकटमा सँगै लड्न सकिन्छ भन्ने राष्ट्रिय एकताको भावनाले कांग्रेसले काम गरिरहेको छ । पार्टीको सबै संरचना र सदस्यलाई कोरोनाविरुद्ध काम गर्न भनेको र जिम्मेवारीपूर्वक काम गरिरहेको छ,” उनले भने, “कोरोना नियन्त्रणमा सघाउने तर, बेथिति, भ्रष्टाचार अधिनायकवादी नियतका विरुद्ध लड्ने छौं ।”

लकडाउनका कारण श्रमिक, बेरोजगार, विद्यार्थी सबैभन्दा बढी समस्यामा रहे पनि सरकारले राहत दिन नसकेको भन्दै देउवाले असन्तुष्टि पोखे । सरकारले न खान दिने, न गाउँ जान दिने कार्यले जनतालाई आहत बनाएको र सुकुम्बासीलाई खाना पु¥याउने दायित्व बिर्सिएर सुकुम्बासी आयोग गठन गरेको भन्दै उनले आलोचना गरे ।

उनले कोरोना प्रभावितहरूका लागि राहतको विशेष प्याकेज ल्याउन पनि माग गरे । स्वास्थ्य सामग्री अभाव हुनु दुखद् र लज्जास्पद भन्दै देउवाले समयमा सामान नल्याउनु, खरिद पारदर्शी नहुनु, भ्रष्टाचार गर्नु अक्षम्य रहेको भन्दै दोषीलाई पदमुक्त गरेर अनुसन्धान गर्नुपर्ने बताए ।