संसद छिर्यो ‘अपहरण’ प्रकरणः नेकपाकै सांसदले मागे सरकारको जवाफ
काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले समाजवादी पार्टीका सांसद ‘अपहरण’को घटनाको यथार्थ संसदमा जानकारी गराउनु पर्ने बताएका छन्। संसदको छैठौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा सम्बोधन गर्दै नेम्वाङले यथार्थ संसदले थाहा पाउनु पर्ने बताए।
‘सांसदको अपहरणको हुनुहुन्न। भएको के हो। यथार्थ के हो संसद चल्दा यथार्थ आउँछ भन्ने विश्वास छ,’ नेम्वाङले भने, ‘हामी कुनै आपराधिक कार्यको पक्षमा छैनौं।’ त्यसअघि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभामा समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएकोमा विरोध जनाएका थिए।
प्रतिपक्षी दलहरुले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई सत्तारूढ दलका कृष्णकुमार श्रेष्ठ, महेश बस्नेत र पूर्वआइजिपी सर्वेन्द्र खनालले अपहरण गरेको आरोप लगाउँदै आएका छन्।

