विपन्न परिवारलाई भेरी नगरपालिकाले सुरु गर्यो राहत वितरण
खलंगा, जाजरकोटको भेरी नगरपालिकाले नगरभित्र रहेका विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । लक डाउनको कारण समस्यामा परेका विपन्न नगरबासीलाई शुक्रवार देखी राहत वितरण कार्य सुरु गरेको हो । लक डाउन लम्बिदै जाँदा ज्याला मजदुरी गर्ने, असाहय, गरिब, विपन्नहरु समस्यामा परेको भन्दै नगरपालिकाले पहिलो चरणमा १५ दिनको प्याकेज बनाएर राहत वितरण गरेको बताइएकाे छ ।

शुक्रवार वडा नम्वर १, ५ र ६ का विपन्न परिवारलाई दाल, चामल, नुन, तेल र सावुन वितरण गरिएको हो । परिवार संख्याको आधारमा राहत वितरण सुरु गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । उनिहरुलाई सामाजिक दुरी कायम गरेर राहत वितरण गरिएको थियो । एक सातासम्म घरमै भएको अन्नले गुजारा गरेको र बाँकी समय पैँचो गरेर बसेको अवस्थामा राहत पाउँदा खुसी लागेको वडा नम्बर ६ का साउने कामिले बताए ।
राहत पाएपछि ज्यालामजदुरी गर्ने, असाहय, गरिब, विपन्न र असाहयहरु समस्यामा परेका नागरिकहरु खुशी भएका छन् । १५ दिनको राहत प्याकेज अन्तरगत परिवारमा भएका सदस्यहरु मध्य २ वर्ष सम्मको वालक या वालिकाका लागि प्रति व्यक्ति २ केजी चामल, १२ वर्ष सम्मको व्यक्तिका लागि प्रति व्यक्ति ५ केजी चामल र १२ वर्ष माथिको लाइ प्रति व्यक्ति ८ केजी चामल तथा २ लिटर तेल, १ केजी नुन ५ केजी दाल, २ वटा सावुन उपलव्ध गराउन सुरु गरिएको छ ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत घर्तीका अनुसार शुक्रवार देखि वैशाखको अन्तिम सम्म वितरण गर्ने कार्यक्रम राखिएको खाद्य सामाग्री वितरण वाट वडा नम्वर ३, ४ , ८ र ११ मा वाहेक १ हजार १ सय ६ जना विपन्न सर्वसाधारणहरु लाभान्वीत हुनेछन् ।
वडा नम्वर ३, ४ ८ र ११मा संकलन भएको नामावलीवारे थप अध्ययन गर्नुपर्ने भएकोले नगर उप–प्रमुख भावना भन्डारीको संयोजकत्वमा गठिन समितिले प्रतिवेदन पेस गरेपछि त्यहाँ कति जनाले राहत सामाग्री पाउने भनेर एकिन भएपछि मात्रै सो वडाहरुमा राहत वितरण गरिने अधिकृत घर्तीले वताए ।
१ देखि २ वर्ष सम्मका ५० जना, १२ वर्ष सम्मका २ सय– ८९ जना र १२ वर्ष भन्दा माथिका ७ सय ६८ जनाले यो खाद्य सहयोग पाउने छन् । खाद्य सामाग्री वितरणवाट भेरी नगरपालिकाको वडा नम्वर १मा ३७ परिवार, २ मा ४३ परिवार, ५मा १७ परिवार, ६ मा १३ परिवार, ७ मा ३५ परिवार, ९ मा २९ परिवार १० मा २९ परिवार, १२ मा २७ परिवार, र १३ मा ३५ परिवार लाभान्वीत हुने नगरपालिकाले जनाएको छ ।

