मुम्वईबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए कपिलवस्तुका कोरोना संक्रमित

काठमाडौं, कोरोनाको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एक साताअघि भारतबाट प्रहरीको आँखा छलेर नेपाल प्रवेश गरेको खुलेको छ। नेपाल-भारत नाका पूर्ण रूपमा सिल गरिए पनि कपिलवस्तुको मायादेवी गाउँपालिका-२ का १६ वर्षीय र २२ वर्षीय युवक रातको समयमा लुकिछिपी नेपाल प्रवेश गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको हो ।

उनीहरु भारतको मुम्बईबाट हिड्दै हिड्दै नेपालसम्म आइपुगेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनीहरु नेपाल प्रवेशको गरेको तीन दिनपछि प्रहरीले थाहा पाएको थियो । त्यसपछि उनीहरुलाई पक्राउ गरेर मायादेवी १ पकडीस्थित छत्रपाली तीर्थादेवी विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

त्यसको दुई दिनपछि स्वाव संकलन गरेर परिक्षणका लागि ल्याइएको थियो । हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरूलाई हाल रूपन्देहीको कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उनीहरूको परिवार, सम्पर्कमा रहेका व्यक्तिहरूको ट्रेसिङको काम शुरु गरेको छ।