भारतले खोल्यो लिपुलेक हुँदै मानसरोबार जाने बाटो
काठमाडौं, भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोबर जाने बाटो खुला गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत् उक्त सडकमार्गको उद्घाटन गरेका हुन् ।
नेपाल, भारत र चीनको त्रिदेशीय सिमाना रहेको लिपुलेक पछिल्लो समय भारतले आफ्नो दाबी गर्दै आएको छ। केही समयअघि लिपुलेकलाई भारतले आफ्नो नक्सामा राखेर सार्वजनिक गरेको थियो।
त्यसपछि नेपाली भूमि मिचिएको भन्दै नेपालमा विरोध भए पनि कूटनीतिक तहबाट समस्या समाधान भइसकेको छैन। नेपाली पक्षले लिपुलेक आफ्नो भूमि भन्दै आएको छ। भारतले त्यहाँ अहिले एकपक्षीय रुपमा सडक बनाउन थालेको हो।
याे सडक भारतको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्छ। सडक बनेपछि कैलाश मानसरोवर यात्रा गर्न सहज हुने भारतीय पक्षको दाबी छ। रक्षामन्त्री सिंहले सडक निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई धन्यवाद दिएका छन्।