क्वारेन्टाइनमा राखिएका १९ भारतीय फरार
काठमाडाैं, क्वारेन्टाइनमा राखिएका १९ भारतीय नागरिक सप्तरीबाट फरार भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ मा रहेको कोसी निम्न माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनबाट उनीहरू बिहीबार बिहान फरार भएका हुन् ।

सांकेतिक तस्विर
भारतसहित नेपालकै विभिन्न जिल्लाबाट आएका ७२ जनालाई दुई सातादेखि उक्त क्वारेन्टाइनमा राखिएको थियो । तर, बिहीबार बिहान करिब ३ बजे १९ जना भारतीय भागेको खबर क्वारेन्टाइनमै बसेका अन्यले प्रहरीलाई गरेका थिए ।
उक्त क्वारेन्टाइनको सुरक्षामा नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका छन् । भागेका सबैको जुत्ता, चप्पल र ब्यागलगायतका सामान कोठामै छ । सामान्य ज्वरो जाँचेर क्वारेन्टाइनमा राखिएका उनीहरू एक साथ भागेका हुन् ।
स्थानीय सरकार र प्रहरी प्रशासनले नै उनीहरूलाई भगाएको आशंका क्वारेन्टाइनमा बसिरहेका अन्यले गरेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले क्वारेन्टाइनमा राखिएका आफ्ना नागरिकलाई फिर्ता पठादिन राजस्थान र बिहारका स्थानीय मुखियाहरूबाट पटक–पटक लिखित मौखिक आग्रह आएको बताए ।
मेयर साहको भनाइले पनि उनीहरूलाई सहमतिमै भगाइएको पुष्टि गर्छ । भागेका भारतीय नागरिकहरू नपालकै अन्य गाउँतिर छिर्ने सम्भावना छ कि छैन ? भन्ने प्रश्नमा मेयर साहले भने, ‘नेपालको कुनै गाउँतिर उनीहरू छिरेका छैनन् । उनीहरू घर पुगिसकेका छन् । मैले सम्पर्क गरेर बुझ्दा बिहार र राजस्थानको गाउँका मुखियाले यहाँबाट भागेका सबै आ–आफ्नो घर पुगेको बताएका छन् ।’ उक्त क्वारेन्टाइनमा राखिएका सबैको भोजन तथा सुत्नेबस्ने खर्च हनुमाननगर कंकालिनी नगरपालिकाले खर्च बेर्होदै आएको उनले बताए ।