नेपालगन्जको दैनिकी सहज बनाउने रणनितिमा बाँके प्रशासन 

नेपालगन्ज, बाँके नेपालगन्जको दैनिकी केही सहज बनाउन बाँके जिल्ला प्रशासनले फरक रणनितिको अबलम्बन गर्ने भएको छ । सर्वदलीय तथा सर्वपक्षीय बैठकले भोली शुक्रबार विहान ११ बजेदेखि ३ बजेसम्मको अवधिमा सर्वसाधरणलाई छुट् दिइने भएको हाे  । 

यसअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा लगाइएको निशेधाज्ञालाई खुकुलो बनाउने भएपछि नेपालगन्जको दैनिकी सहज हुने भएको छ । शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अगुवाईमा बसेको सर्वदलीय, सर्वपक्षीय वैकठले यस्तो निर्णय गरेको हो । 

  बाँके प्रशासनले दिएको यस्तो छुट भने अत्यावश्यक काम, खाद्यान्न तथा औषधी लगायतका सामाग्री खरिद विक्रिका लागि छुट्याइएको छ  ।

तर, बाँके प्रशासनले यो समयमा पनि लकडाउनलाई पूर्णरुपमा पालना गराउदैं विना काम घरदेखि बाहिर निस्कने, भीडभाड गर्ने जस्ता काम नगर्न नगराउन आग्रह गरेकाे छ । लकडाउन उलंघन गरिएको पाइएमा कानूनी कारबाही समेत गर्ने बाँकेका प्रमुख जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

नेपालगञ्जमा २३ जनामा कोरोना देखिएपछि सर्वपक्षीय बैठकले नै तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो। उक्त समय आज राती सकिँदैछ।

 ४८ जनाको स्वाब संकलन

नेपालगन्जमा थप ४८ जनाको स्वाब संकलन गरीएको छ । कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्दै स्वाब लिने क्रममा बिहिबार तिन स्थानबाट ४८ जनाको स्वाब संकलन गरीएको हो ।

बिहिबार खजुराको वडा नं. ७ सोनपुरबाट १७ जनाको स्वाब संकलन गरिएको छ । त्यसैगरी विपी चोक आसपासबाट ३० जना र क्यान्सर अस्पताल खजुराबाट १ जनाको स्वाब संकलन गरीएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि पहिलो संक्रमित ब्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर ९४ जनाको स्वाब लिइएकोमा एउटै टोलका २२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती २२ जनाको सम्पर्कमा आएकाहरुको खोजी गर्दै स्वाब लिन थालिएको हो ।

श्रेष्ठका अनुसार मंगलबार संकलन गरीएका ५४ जनाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने बुधबार स्वाब संकलन गरीएका १ सय ३६ जना र आज बिहिबार संकलन गरीएको ४८ जनाको स्वाब परिक्षणकालागि पठाईएको छ ।