सांसदहरु ‘पीसीआर’ रिपोर्ट नआएसम्म एकान्तबास बस्नु पर्ने

काठमाडौं,  संघीय संसदका सांसदहरुको कोरोना परीक्षणको ‘पीसीआर’ रिपोर्ट नआएसम्म संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । सो अवधिसम्म सांसदहरुले एकान्तबास बस्नु पर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकले कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र सांसदहरुलाई हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको हो ।

कुनै सांसदमा कोरोना संक्रमण पाइएमा हलमा छिर्न पाउने छैनन् । संघीय संसदको बजेट अधिवेशनको पूर्वसन्ध्यामा बिहीबार सांसद र कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । पीसीआर परीक्षण रिपोर्ट शुक्रबार बिहानसम्म आइसक्ने जनाइएको छ । उक्त रिपोर्ट देखाएरमात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने समितिले निर्णय गरेको हो ।

कोरोना परीक्षण नभएका सांसदहरु भने शुक्रबार बस्ने बैठकमा सहभागी हुन पाउने छैनन् । स्वाब संकलन गर्न बाँकी रहेका सांसदको कोरोना परीक्षण शुक्रबार बिहान गरिने छ । यस्तै, समितिले संसद अधिवेशन सुरु भइसकेपछि कुनै पनि सांसदलाई काठमाडौं छाडेर निर्वाचन क्षेत्र जान नदिने निर्णय समेत गरेको छ ।

२१२ सांसदसहित ४४१ को स्वाब संकलन

बिहीबार २१२ जना सांसदसहित ४४१ जनाको कोरोना परीक्षण गरिएको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि शुरु भएको परीक्षणमा प्रतिनिधि सभातर्फका १७९ जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद सहभागी भए ।

प्रतिनिधि सभामा २७५ जना छन् । राष्ट्रिय सभामा हाल ५८ जना छन् । बिहीबार स्वाब संकलनमा छुटेका सांसदको भोलि बिहान साढे ८ बजेदेखि परीक्षण गरिने संसद सचिवालयले जनाएको छ ।

संकलित स्वाब परीक्षणका लागि टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । रिपोर्ट शुक्रबार दिउँसोसम्म आउने जनाइएको छ । रिपोर्ट आएपछि मात्रै सांसदहरु बैठक कक्षमा प्रवेश गर्न पाउने छन् ।

संसद बैठकका सहभागीले पालना गर्नुपर्ने आचारसंहिता :

– सबै सहभागीले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ ।

– बैठक अवधीभर सबैले अनिवार्य रुपमा मेडिकल मास्कको प्रयोग गर्नुपर्नेछ ।

– सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरि तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ ।

– सकेसम्म समूहगत छलफल नगर्ने, यदी गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्नेछ ।
– आफूलाई स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरिर दुखाई आदी) देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ ।

– बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ ।

– बैठक अवधीभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ ।