भारतीयले सशस्त्र प्रहरीको अस्थायी पोस्ट भत्काइदिएपछि…..
बारा, बाराको सुर्वण गाउँपालिका-३ कबहीगोठस्थित नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा भारतीय नागरिकले बिहीबार दिउँसो आक्रमण गरेका छन् । लकडाउनको समयमा नेपाल प्रवेश गर्न खोजेका दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीले रोकेपछि उनीहरुसहित केही भारतीय नागरिकले सशस्त्र प्रहरीको पोष्टमा आक्रमण गरेका हुन् ।
नेपालतर्फ प्रवेश गर्न खोज्ने दुईजनालाई सशस्त्र प्रहरीले सीमाबाटै फर्काएपछि करिब एक सयको संख्यामा आएका भारतीय नागरिकले प्रहरी पोष्टमा क्षति पुर्याएको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले जानकारी दिए। भारतीय नागरिकले आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।
“दुईजनालाई फर्काइदिएपछि केहीबेरमा हुल बाँधेर भारतीयहरु आएर नेपाल प्रवेश गर्न लागेका रहेछन्,”सशस्त्र प्रहरीका प्रवक्ता प्रविण श्रेष्ठले बाह्रखरीसँग भने, “हुल बाँधेर आएका भारतीयलाई फर्काएपछि उनीहरुले अस्थायी पोस्ट भत्काइदिएका हुन् । त्यसपछि सशस्त्र प्रहरीका तर्फबाट एक राउन्ड हवाइ फायर भएको छ ।”
उनका अनुसार अहिले त्यस क्षेत्रको अवस्था सामान्य भइसकेको छ ।