पाकिस्तानमा शनिबारदेखि लकडाउन खुला गरिने
इस्लामावाद, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नोभेल कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन शनिबारदेखि विभिन्न चरणमा खुला गरिने बताएका छन् ।
प्रधानमन्त्री खानले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने, “हामीले विभिन्न चरणमा शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेका छौं । मुलुकमा नागरिकहरु आर्थिक समस्याबाट ग्रसित भएका कारण हामीले लकडाउन खुला गर्नुपरेको हो ।”
उनले लकडाउन खुला गरिएपछि पनि जिम्मवार बन्न र सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री खानले पाकिस्तानमा कोरोना संक्रमणबाट हुने मृत्यु अपेक्षाभन्दा निकै कम भएको र अझै सामाजिक दूरी कयम गरेर सावधानी अपनाउन सकेन नियन्त्रण गर्नसकिने विश्वास व्यक्त गरे ।
पाकिस्तानमा पहिलो चरणमा अस्पताल, पाइप उत्पादन कारखाना, सिमेन्ट कारखाना, विद्युतीय सामग्री, स्टिल र आलमुनियम कारखानाहरु खुला गरिनेछन् । त्यसैगरी ग्रामीण क्षेत्रमा पसलहरुसमेत खुला गरिनेछन् ।
हप्तामा पाँच दिन उक्त पसलहरु बिहान ५ बजेदेखि खुला गरिने बताइएको छ । तर, सम्पूर्ण शैक्षिक संस्थाहरु भने जुलाई १५ सम्म बन्द रहनेछन् । – सीएनएन