अमेरिकामा एकै दिन २५ सय बढीको मृत्यु, मृतकको संख्या साढे ७४ हजार
काठमाडौं, अमेरिकामा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ दुई हजार ५२५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ७४ हजार ७९६ पुगेको छ । अमेरिकामा एकै दिन २५ हजार २५७ नयाँ संक्रमित पनि थपिएका छन् ।
हालसम्म यहाँ संक्रमितको संख्या १२ लाख ६२ हजार ८९० रहेको छ । जसमध्ये १५ हजार ८२१ को स्थिति गम्भीर छ । यद्यपि, संक्रमितमध्ये दुई लाख १२ हजार ९ ६५ उपचारपपछि निको भएका छन् ।
कोरोना महामारी अमेरिकामाथि इतिहासकै खराब आक्रमण : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीलाई अमेरिकामाथि भएको इतिहासकै खराब आक्रमण रहेको बताएका छन् ।
दोस्रो विश्वयुद्धमा जापानी सेनाले अमेरिकाको पर्ल हार्बरमा गरेको आक्रमण वा सेप्टेम्बर ११ को आक्रमण भन्दा पनि कोरोनाले नराम्ररी प्रहार गरेका बताए । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले कोरोना महामारीको अदृष्य शत्रुलाई युद्धका रुपमा लिएको स्पष्ट पारे ।
चीनले शुरुमै कोरोना नियन्त्रण गर्न नसकेको र विश्वलाई यसबारे जानकारी पनि नदिएका आरोप दोहोर्याउंदै उनले उसविरुद्ध कडा कदम चालिने बताए ।
तर चीनले भने महामारी नियन्त्रणमा अमेरिकाले पर्याप्त काम गर्न नसकेको आरोप लगाउंदै आएको छ । चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ ।