कोरोना संक्रमणबारे अध्ययन गर्न डब्ल्युएचओको टिम नेपालगन्जमा
नेपालगन्ज, बाँके नेपालगञ्ज २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को टिम नेपालगन्ज पुगेकाे छ । कोरोना भाइरस समुदायमा कसरी फैलियो भनेर घटना अनुसन्धानका लागि उनीहरू नेपालगन्ज पुगेकाे फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

तस्विर – फोकल पर्सन – नरेश श्रेष्ठकाे वालबाट
श्रेष्ठका अनुसार समुदायमा के के कारणले कोरोना फैलिएको हो, अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनकाे प्रतिनिधिहरूकाे टाेली नेपालगन्ज पुगेकाे बताइएकाे छ ।
नेपालगञ्ज वडा नम्बर ८ को महेन्द्र पार्कको एक मस्जिदमा बस्ने ११ जनाको स्वाब परीक्षण गर्दा ६० वर्षीय एक जनामा शुक्रबार पहिलो पटक कोरोना पुष्टि भएको थियो। त्यसपछि आइतबार उनकै सम्पर्कमा आएका थप १५ जनामा र मंगलबार बिहान थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तर उनीहरू कसैमा पनि काेराेनाकाे लक्षण भने देखिएको थिएन ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरू सबैको अवस्था हालसम्म सामान्य रहेको बताइएकाे छ। धार्मिक संस्थामा बस्नेहरुलाई आशंका लागेर स्वाब परीक्षण गर्दा लक्षणबिना नै कोरोना देखिएपछि त्यसको अध्ययनको लागि विश्व स्वास्थ्य संगठनको टोली नेपालगन्ज पुगेकाे जनाइएकाे छ । टाेली केहिदिन नेपालगन्जमै रहनेछ ।